काठमाडौँ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको वडा नम्बर ४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कलभर्ट निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले उक्त गाउँपालिकाकाका तत्कालीन अध्यक्ष राम बल्लभ साह, उपाध्यक्ष आशा देवी यादव, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित २३ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो ।
पश्चिम कटनिया नयाँ नदीमा पुल/कल्भर्ट निर्माण समयमै सम्पन्न नगरेको, भएका काम पनि कम गुणस्तरका देखिएको र भुक्तानी नै गर्न नमिल्ने ३१ लाख ७४ हजार ४६७ रुपैयाँ मिलेमतोमा उपभोक्ता समितिलाई भुक्तानी दिनेरलिने गरेको पुष्टि गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
पुल निर्माणका सम्बन्धमा जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा भुक्तानी नै गर्न नमिल्ने रकम भुक्तानी गरेर भ्रष्टाचार भएको पाइएको अख्तियारको भनाइ छ ।
२३ जना प्रतिवादीहरू उपर फरक फरक सजाय र बिगो बमोजिमको जरिवाना गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।