बागलुङ । ‘सुगंगा पुरस्कार–२०८३’ बाट बागलुङ अग्रज पत्रकार तथा ढोरपाटन राष्ट्रिय दैनिकका प्रधान सम्पादक हरिनारायण गौतम पुरस्कृत हुनुभएको छ । सुगंगा स्मृति कोष, बागलुङले गौतमलाई नगद २५ हजार रुपैयाँ, कदरपत्र तथा दोसल्लासहित सम्मान गरेको हो ।
पत्रकारितामा तीन दशकभन्दा लामो समयदेखि सक्रिय योगदान पुर्याउँदै आउनुभएका गौतमलाई यस वर्षको ‘सुगंगा पुरस्कार’का पुरस्कृत गरिएको छ । वि.सं. २०५१ सालदेखि पत्रकारिता सुरु गर्नुभएका गौतमको धौलागिरी साप्ताहिक, धौलागिरी स्टार साप्ताहिक, न्यू धौलागिरी दैनिक, राजधानी दैनिक, नेपाल समाचारपत्र दैनिक, नेपाल, हिमाल तथा समय साप्ताहिक लगायतका सञ्चारमाध्यममा काम गरेको अनुभव रहेको छ । गौतम अहिले ढोरपाटन राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा धौलागिरी एफएमका अध्यक्ष हुनुहुन्छ ।
बागलुङका पत्रकार स्व.विदुर खड्काले आफ्नी आमा सुमित्रा खड्का र श्रीमती गंगाको स्मृतिमा कोष स्थापना गर्नुभएको हो । सुगंगा स्मृति कोषका अध्यक्ष काजि रोशनको अध्यक्षता र सदस्य विश्वनाथ रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।