तनहुँ–१,चितवन–२ र बारा–२ मा प्रतिनिधिसभा सदस्य चयनका लागि आज मतदान हुँदै छ । प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि मतदान बिहान ७ बजेदेखि सुरु भएको छ । मतदान बेलुका ५ बजे सम्म सञ्चालन हुनेछ।
तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ । तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । तनहुँमा राजनीतिक दलका ९ उम्मेदवार छन। चितवन–२ मा ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् । यहाँ राजनीतिक दलका १२ र स्वतन्त्र १० उम्मेदवार छन। बारा–२ मा १ लाख पाच हजार ११ मतदाता छन भने ३४ जना उम्मेदवार रहेका छन ।
तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि चितवन–२ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य रिक्त भएको थियो। उपनिर्वाचन हुने स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।