बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलको समर्थन देखिएपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
चौधरी दाङको निर्वाचन क्षेत्र नं ३ (१) बाट निर्वाचित हुन् । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रीका रूपमा प्रदेश सरकारका डेढ वर्ष काम गरेका चौधरी यस वर्षको निर्वाचनबाट मुख्यमन्त्रीको लाइनमा पुगेका हुन् । २०४२ सालदेखि राजनीति र सामाजिक सेवामा सक्रिय चौधरी भारी मतान्तरसहित यस पटक दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट प्रदेशसभा सदस्यका लागि दोस्रो पटक निर्वाचित भएका हुन् ।
सामाजिक अभियन्ताका रूपमा चिनिएका चौधरी २०७० मा संविधान सभा सदस्य बने । संसद्को त्यही कार्यकालमा उनी श्रमराज्यमन्त्री पनि बने । त्यसपछि उनी २०७४ को प्रदेशसभा निर्वाचनमा दाङबाट निर्वाचित भए । यसपटक भने उनी मुख्यमन्त्री नै बने । उनले यसअघि लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको भूमिका निर्वाह समेत गरेका थिए । कांग्रेस सभापति देउवानिकट उनी २०६४ देखि निरन्तर महासमिति सदस्य छन् ।