काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अझै तीन दिनसम्म वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आगामी तीन दिन वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।
तीन दिनसम्म पानी पर्ने र रोकिने क्रम चलिरहने सम्भावना रहेको नगरकोटीले बताइन । ‘प्रिमनसुन चलिरहेको छ। पानी रोकिने र पर्ने क्रम चलिरहेपनि बादल भने लागिरहन्छ,’ उनले भनिन्। देशभर आंशिकदेखि सामान्य बदली रहि लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भू–भागहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने छ।
दिउँसो आंशिकदेखि सामान्य बदली रहि पहाडी र तराई भूभागका केही स्थानहरूमा पनि वर्षाको सम्भावना रहको विभागले जनाएको छ । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिनका लागि सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।