काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइने भन्दै करोडौं रुपैयाँ असुलउपर गर्दै आएको गिरोहका मुख्य योजनाकारका रुपमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ ।
नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो। उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएको छ । नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि तिनले दिएको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
२०७४ फागुनदेखि २०७८ असारसम्म गृहमन्त्री रहेका बादलका सुरक्षा सल्लाहकार राईले भुटानी शरणार्थी समस्या समाधानमा स्थायी तवरको उपाय पहिल्याइने भन्दै गृह मन्त्रालयबाट नीतिगत असंगत निर्णयहरू गराएको र नक्कली शरणार्थी बन्न जनही बढीमा ५० लाखसम्म पैसा असुल्न मार्गप्रसस्त गरिदिएको बयानमा खुलेको छ ।
प्रहरी परिसर टेकुमा राखिएका राईले समेत विभिन्न चरणमा गरेर पाँच करोड रुपैयाँभन्दा बढी आफूबाट लिएको भनेर पक्राउ परेका गिरोहका सदस्यले बयानमा जनाएका छन् ।