Logo

Jul 30 2026 | २०८३, साउन १४गते

प्रिमियर कप क्रिकेट जित्दै नेपाल एसिया कपमा छनोट


स्वतन्त्र
मंगलबार, वैशाख १९ २०८०१२:१०
  • 480
    SHARES

  • प्रिमियर कप क्रिकेट जित्दै नेपाल एसिया कपमा छनोट

    काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएको छ ।  फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरि नेपाली क्रिकेट इतिहासकै ठूलो सफलता हात पार्न सफल भयो ।  

    images
    images

    प्रिमियर कपको विजेताले एसिया कपमा छनोट हुने प्रावधान रहेको थियो । नेपालले पहिलो पटक एसिया कप खेल्ने छ । पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुने तालिका छ ।

    गुलशन झा र भीम सार्कीले अविजित अर्धशतकीय साझेदारी गरेपछि यूएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा पुरा गर्‍यो । झा र सार्कीले ९६ रनको साझेदारी गरेका थिए । गुलशनले ८४ बलमा ६७ रन बनाए । उनले ३ चौका र ६ छक्का प्रहार गरे । भीमले ७२ बल खेली ३६ रन बनाउनेक्रममा ४ चौका प्रहार गरे ।

    गुलशनले दोस्रो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक पुरा गरेका हुन् । डेढ महिनाअघि विश्व क्रिकेट लिग २ को अन्तिम खेलमा उनले यूएईविरुद्ध नै अविजित ५० रन बनाएका थिए ।

    नेपालको सुरुआत राम्रो थिएन । ८ ओभरमा नेपालले २२ रनमात्र बनाउँदा ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल १ रनमा आउट भए । उनलाई रोहन मुस्ताफाले एलबीडब्लु आउट गरे । आसिफ शेख पनि एलबीडब्लु आउट भए । उनलाई आयन खानले ८ रनमा आउटगरे ।

    कप्तान रोहित पौडेल १ रनमात्र बनाई रोहन मुस्ताफाको बलमा बोल्ड भएपछि निकै दबाबमा परेको नेपाललाई गुलशन र भीम मिलेर उकासेका थिए । यूएईबाट मुस्ताफाले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए ।

    वर्षाका कारण सोमबार स्थगित खेलले मंगलबार पनि निरन्तरता पाउदा यूएईलाई मंगलबार ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भएको थियो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भइ खेल अवरुद्ध हुन पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस