Logo

Jul 30 2026 | २०८३, साउन १४गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक र प्रशासनिक अधिकारीहरू पनि मुछिए


स्वतन्त्र
बुधबार, वैशाख २० २०८००९:२६
  • 496
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक र प्रशासनिक अधिकारीहरू पनि मुछिए

    काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा प्रहरीले  अनुसन्धान गर्दै जाँदा उच्च राजनीतिक र प्रशासनिक अधिकारीहरू मुछिएका छन्। नेताहरूसँगै उनीहरूका परिवारका सदस्य पनि यो प्रकरणमा मुछिएका छन्। अहिलेसम्म ठगी गरेको प्रकरणमा प्रहरीले ७ जना पक्राउ गरेको छ । 

    images
    images

    गृह सचिव भएका बेला ठगी गिरोहसँग साँठगाँठ गरेको आरोपमा बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ। पाण्डे २०७८ साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए।

    यस्तै मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार यसअघि पक्राउ परेका व्यक्तिहरूको बयानको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। इन्द्रजित राईले भने ५ करोड बढी रकम लिएको अरू अभियुक्तको बयानमा खुलेको छ। 

    उनले गृह मन्त्रालयभित्र सहजीकरण गरिदिने भन्दै रकम लिएको अनुसन्धानमा देखिएको हो। यो प्रकरणमा प्रहरीले यसअघि नै केशव दुलाललाई पनि पक्राउ गरेको थियो। उनी पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाका पूर्वस्वकीय सचिव हुन्। उनीसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले चैत १२ गते पक्राउ गरेको थियो। पक्राउ पर्ने अन्यमा सानु भट्टराई र टंककुमार गुरूङ छन्। 

    नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। रायमाझी  पूर्वउपप्रधानमन्त्री हुन् भने अहिले उनी अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। यही प्रकरणमा उनका छोरा सन्दीप रायमाझी पनि मुछिएका छन्। सन्दीपविरूद्ध पनि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। 

    पूर्वगृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी छ। पक्राउ परेका इन्द्रजितका छोरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। 

    २०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनेको थियो। त्यसअघि शरणार्थीसम्बन्धी राष्ट्र संघीय उच्च आयुक्तको कार्यालयले केही भुटानी शरणार्थीलाई विदेश पठाएको थियो। तर त्यसबाट छुटेकाहरूको पहिचान गर्नको लागि उक्त कार्यदल गठन गरेको थियो। उक्त प्रतिवेदन अहिलेसम्म गोप्य नै राखिएको छ। तर गिरोहका सदस्यहरूसँग भने यो प्रतिवेदन पुगिसकेको थियो। उनीहरूले त्यो प्रतिवेदन पीडितहरूलाई पनि दिएका थिए।

    प्रहरीले अहिले पीडितबाट प्राप्त गरेको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थी बनाउनेको सूचीमा ८ सय बढीको नाम  समावेश गरिएको छ।  झापा, दाङलगायत विभिन्न ठाउँमा रहेका नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले करोडौं रुपैयाँ ठगेको भन्दै प्रहरीमा उजुरी परेको थियो। 

    प्रतिक्रिया दिनुहोस