काठमाडौँ । कक्षा ९-१२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पठनपाठन र परीक्षाको माध्यम भाषा नेपाली हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषयको माध्यम भाषा नेपालीमात्र हुने तय गरेको छ ।
कक्षा १२ को परीक्षा सुरु हुनुअघि राष्ट्रिय परीक्षा बोर्डले सामाजिक अध्ययन विषयको नमुना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार पारेपछि विद्यार्थी, शिक्षक र अभिभावक द्विविधामा परेका थिए ।निजी र अंग्रेजी माध्यममा पठनपाठन गराउने विद्यालयले सामाजिक विषय पनि अंग्रेजी माध्यममा नै पठनपाठन हुनुपर्ने र परीक्षा पनि अंग्रेजी माध्यमबाटै दिन पाउनुपर्ने माग राख्दै आएका छन् ।
पाठ्यक्रम, पाठ्यपुस्तक, माध्यम भाषा तय गर्ने जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रले पाएको छ । गत वर्षको परीक्षामा अंग्रेजी माध्यममा परीक्षा दिने विद्यार्थीको उत्तरपुस्तिकालाई पनि बोर्डले मान्यता दिँदै आएको छ । केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले सामाजिक विषयको पठनपाठन र परीक्षा नेपाली भाषामा नै हुने जनाए ।
विदेशमा सञ्चालित नेपाली विद्यालय र स्वदेशी विद्यालयमा पढ्ने विदेशी विद्यार्थीले मात्र सामाजिक विषयको परीक्षा अंग्रेजी माध्यममा दिन पाउने अर्यालले जनाए । कक्षा १ देखि १२ सम्म सामाजिक अध्ययन विषय नेपाली भाषामा पठनपाठन गराउनुपर्ने र परीक्षा पनि नेपाली भाषामा नै सञ्चालन हुनुपर्ने व्यवस्था गरिएको छ ।