काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित नेपाली कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनले काठमाडौं प्रहरी परिसर टेकु पुगेर आत्मसमर्पण गरेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको थियो । हिरासतमा रहेका आरोपितलाई भेटेर यस मुद्दामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न भन्दै प्रभावमा पारेको आरोप उनीमाथि लागेको छ । शेर्पा रामेछापबाट २०७० सालमा सभासद निर्वाचित भएका थिए । उनी शरणार्थी प्रकरणमा पक्राउ पर्ने १४ औं व्यक्ति बनेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डेसहित अन्य पक्राउ परिसकेका छन् ।