काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ‘प्राइमरी निर्वाचन प्रणाली’मा जाने भएको छ । प्रदेश र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा प्राइमरी इलेक्सन गर्ने निर्णय केन्द्रीय समितिले गरेको हो।
काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रारम्भिक रूपमा प्रादेशिक र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुबैतर्फ ५० प्रतिशत उम्मेदवार ‘प्राइमरी निर्वाचन प्रणाली’बाट चयन गरिने निर्णय भएको जानकारी दिए ।
राप्रपाले हरेक समिति र तहहरूमा महिलालाई कम्तिमा ३३ प्रतिशत र ४० वर्ष उमेरमुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्नेसमेत निर्णय गरेको छ। राप्रपाले ५ वर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्याउने लक्ष्यसमेत लिएको छ।
‘राप्रपालाई अब नवीन राप्रपाको अवधारणाअनुसार युवा र महिला केन्द्रित नयाँ सोच र शैली अनुशरण गर्दै आम नागरिकमा आशा, भरोसा र विश्वास जगाउँदै ५ वर्षभित्र राप्रपालाई देशको नेतृत्वमा पुर्याउने लक्ष्य लिइएको छ,’ केन्द्रीय समितिको निर्णयमा उल्लेख छ।
साथै राप्रपाले भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारबाही गर्न माग गरेको छ। ‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानूनबमोजिम आकर्षित हुने राज्यविरूद्धको अपराध, ठगी, संगठित अपराध, सरकारी दस्तखत कीर्तेलगायत कसुरमा कारबाही चलाउन राप्रपा माग गर्दछ,’ निर्णयमा भनिएको छ।
साथै राप्रपाले २०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नसमेत माग गरेको छ।