काठमाडौँ । २०७२ भदौमा कैलालीको टीकापुरमा भएको घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको सजाय माफी निवेदनमा राष्ट्रपति कार्यालयले कानुनबमोजिम गर्न राय दिएको छ ।
शुक्रबार राष्ट्रपति कार्यालयले चौधरीको आममाफी सम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता गरेको हो । गृह मन्त्रालयले चौधरीको सजाय माफी मागको निवेदनमा राय माग गर्दै उनको निवेदन राष्ट्रपति कार्यालय पठाएको थियो । राष्ट्रपति कार्यालयले गृहबाट प्राप्त निवेदनको फाइल अध्ययनपछि रायसहित फिर्ता पठाइएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । कानुनबमोजिम गर्नू भन्ने राय राष्ट्रपति कार्यालयले दिएको छ ।
टीकापुर घटनामा अदालतमा दोषी ठहर भइ चौधरीले जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् । त्यस्तै, सो घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहराले दिएको निवेदनसमेत राष्ट्रपति कार्यालयले कार्यार्थका लागि गृहलाई पठाएको छ । आजै बोहराले चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराएकी थिइन् ।