काठमाडौँ । विविध कार्यक्रम आयोजना गरी देशभरी आज १६औं गणतन्त्र दिवस मनाइएको छ । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ ।
विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो । तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादी बीच भएको सहमतिअनुसार विसं २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो ।
विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले दुई सय ४० वर्षदेखिको राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।