काठमाडौं । चारदिने औपचारिक भ्रमणका लागि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँ दिल्ली पुगेका छन् । करिब १२० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल भारत गएका हुन् ।
बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री दाहाललाई विमानस्थलमा भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका छन् । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्री दाहाल बुधबार दिउँसो १:२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत पुगेका थिए । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण रहेको छ ।