बागलुङ । बागलुङमा व्यावसायिक रुपमा पालेका बंगुर एक्कासी मर्न थालेपछि किसान चिन्तित भएका छन । बानपा १,२,३ र ४ वडा क्षेत्रमा संक्रमणका कारण हालसम्म झन्डै ४ सय बंगुरको मृत्यु भएको छ ।
किसानले व्यवसायिक रुपमा पालेको बंगुर मर्न थालेपछि खोर नै रित्तो हुन थालेको किसान गणेशबहादुर पुनको भनाई छ । केही दिनदेखि दैनिक खोरमा बंगुर मर्न थालेको किसानको भनाइ छ । बिहान ठिक भएका बंगुर बेलुका मर्ने गरेको पुनको भनाइ छ । मरेका बंगुरलाइ खाल्टो खनेर किसानले पुर्ने गरेका छन ।
व्यवसायिक रुपमा बंगुर पालन गर्दै आएको समयमा पहिलो पटक रोग देखा परि बंगुर मर्न थालेको किसान डिलमाया थापाले बताइन । दैनिक खोर रित्तिदै गएको छ,पुनले भनिन, यसले गर्दा चिन्ता बढन थालेको छ । यसबाट अहिले सम्म यहाँका किसानले झन्डै दुई करोड नोक्सान व्यहोर्नुपरेको किसानको भनाई छ । यस क्षेत्रका ५४ जना किसानले पालेका तिन सय ९२ वटा बंगुरको मृत्यु भएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङलाई ध्यानाकर्षण गराएको अगुवाकर्ता एकबहादुर केसी ‘संगम’ ले बताए ।
किसानले पालेका सुँगुर र बंगुर एक्कासी मर्नुमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस हुन सक्ने भएकोले परिक्षण गर्न थालिएको भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका बरिष्ठ पशु चिकित्सक डाक्टर ऋषिराम सापकोटाले बताए । बागलुङको जैमिनी नगरपालिकामा पहिलो पटक किसानले पालेका बंगुरको परिक्षण गर्दा गत पौषमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस देखा परेको थियो ।
बर्ड फलुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जंगली बंदेल प्रजातिमा देखा पर्ने भाइरस रहेको छ । यो रोग पशुबाट मानिसमा नसर्ने सापकोटाले बताए । संक्रमण भएमा सुँगुर,बंगुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा बाहिर निलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखा पर्ने लक्षण देखा पर्ने गरेको छ । उच्च मृत्युदर भएको अति खतरनाक महारमारीजन्य सरुवा रोग हो,सापकोटाले भने, यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध नभएको र रोग देखापरेपछि उपचार समेत हुन नसक्ने भएकोले उच्च सतर्कता अपाउनुपर्ने पर्दछ ।
कुनै स्थानमा अस्वाभाविक रूपमा बंगुर मरेमा वा लक्षण देखा परेमा तत्काल कार्यालयमा जानकारी गराउन केन्द्रले किसानलाई आग्रह गरेको छ । बागलुङमा दुई सय भन्दा बढि किसानले १२ हजारको सङख्यामा सुँगुर, बंगुर पाल्दै आएको केन्द्रले जनाएको छ । रोगी बंगुर,त्यसका पाठापाठी, मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्र्काे स्थानमा लैजाँदा रोग सजिलै सर्ने र रोग छिटो फैलन सक्ने भएकोले सावधानी अपनाउनुपर्ने केन्द्रले बताएको छ ।
अफ्रिकी महादेशमा मात्र सीमित रहेको यो रोग सन २०१८ मा चीनमा र त्यसपछि भारत, भुटानमा पनि देखा परेको थियो ।