काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा भएको भ्रमणले दुई देश बीचको सम्बन्धलाई थप बलियो बनाउँदै भविष्यका लागि प्रस्ट मार्गचित्र तय गरेको बताए छन । राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भारतमा भएको भ्रमण विगतकोभन्दा फरक अनुभूति गरेको बताएका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय सम्बन्ध र हितका विषयमा खुलस्त रुपमा कुराकानी भएको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्ली स्थित हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री दाहालले सो अवसरमा व्यापार, पारवहन, लगानी प्रवर्धन, ऊर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, सीमा वारपार सम्पर्क बढाउन रेलवे सेवा सञ्चालन कार्य, पुल निर्माण तथा एकीकृत जाँच चौकी एवं सुक्खा बन्दरगाहजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा छलफल भएको बताए ।
उनले भने, ‘मेरो भ्रमण आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने दिशामा केन्द्रित रह्यो। विशेष गरी आर्थिक मामिलामा राष्ट्रको दीर्घकालीन हितमा सम्झौताहरू भएका छन् भने राजनीतिक मामिलामा आपसी विश्वास बढाउँदै छलफल र वार्ताद्वारा निकास खोज्ने दिशामा कुराकानी भयो। ’ नेपाल भारत सीमावर्ती क्षेत्रमा बाढी र डुबानका समस्याबारे पनि गम्भीर छलफल भएको प्रधानमन्त्री दाहालले बताए ।