बागलुङ । नेपाल पत्रकार महासंघलाई विधान अनुसार सञ्चालन गर्न नेपाल प्रेस युनियन बागलुङले माग गरेको छ । साधारण सभाको बन्द सत्रमा छलफल नै नभएको बिषयलाई महासंघ शाखा सचिवले आँफूखुशी कम्प्युटर टाईप गरी किर्ते निर्णय गरी नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल पुनः अध्यक्षको भूमिकामा नफर्किने निर्णय भएको भन्दै नेपाल पत्रकार महासघको केन्द्रीय कार्यालयमा पठाउने कार्य गरेकोमा गभ्भिर ध्यानाकर्षण भएको युनियनका अध्यक्ष प्रदिप पन्तद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिवले सोही किर्ते निर्णयलाई आधार देखाउँदैे महासंघ बागलुङ शाखाका अर्का उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सहितको पत्र पठाएपछि महासंघको विधानको अधिकार मिचिएको युनियनको भनाई छ । महासंघको विधान अनुसार कार्यवाहकको जिम्मेवारी दिने अधिकार स्वयं अध्यक्षमा नै निहित रहेको समेत स्मरण गराउन चाहान्छौ विज्ञप्तिमा भनिएको छ ।
निर्वाचित जिल्ला अध्यक्षसँग समन्वय नै नगरी केन्द्रले विधान विपरित उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको हुदा निर्णय तत्काल सच्चाउन र पत्रकार महासंघको किर्ते गरी माइन्युट गर्नेलाई छानविन गरी कारबाहीको दायरामा ल्याउन नेपाल प्रेस युनियन जोडदार माग गरेको छ ।
महासंघले सञ्चालन गरेको पत्रकार शुद्धिकरण अभियानमा युनियनको पूर्ण साथ र सहयोग छ,विज्ञप्तिमा भनिएको छ, शुद्वीकरण अभियान र नविकरणलाई तार्किक निष्कर्षमा पुर्याउन सबैले खुल्ला ह्रदयले छलफल चलाउन र वास्तविक शुद्वीकरणको लागि सबै इमान्दार भएर अगाडि आउनु पर्दछ । पत्रकार महासंघको शुद्धिकरण अभियानलाई सबैको सहमतिमा अघि बढाउनुपर्ने बेला केही व्यक्तिको निहित स्वार्थमा पत्रकार महासंघमा विवाद सृजना गर्ने कार्यले युनियन दुःखी भएको विज्ञप्तिमा भनिएको छ ।
महासंघ बागलुङ शाखाका विगतका तिक्ततापूर्ण अनुभवबाट पाठ सिक्दै सहमति र सहकार्यको आधारमा सम्पूर्ण श्रमजीवि पत्रकारको अपनत्व हुने गरी सर्वसम्मत नेतृत्व चयन गर्ने परम्पराको सुरुवात भएको र पत्रकारका सबै संगठनको सहयोगमा सहकार्य गरेर काम गर्दा पत्रकार महासंघ बागलुङ शाखाले थुप्रै उपलब्धी पनि हासिल गरेको युनियनद्धारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको विधान विपरित दिएको कार्यवाहकको जिम्मेवारी फिर्ता लिन, किर्ते निर्णय गरेर पत्राचार गर्नेलाई कारबाही गर्न र पत्रकार महासंघलाई विधान अनुसार सञ्चालन गर्न महासंघको केन्द्रीय समिति र महासंघको प्रदेश समितिलाई आग्रह गरेको छ । महासंघको विधान विपरितका कार्य तत्काल नसच्चिए थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी युनियनले विज्ञप्तिमार्फत दिएको छ ।
