काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा क्षणिक र आवेगमा गठन नगरिएको बताका छन। सोमबार राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणासभामा बोल्दै प्रधानमन्त्री दाहालले हतारमा पार्टी एकता गरेर व्यवहारमा सफल गर्न नसकेको विगतलाई समीक्षा गर्दै एकता र स्वतन्त्रताको द्वन्द्वात्मक बाटोबाट समाजवादी मोर्चा जन्मिएको बताए ।
‘नयाँ शिराबाट तिता मिठा अनुभवको समीक्षा गर्दै जनताको हकलाई सुनिश्चित गर्न समाजवादतर्फ लैजान गठन भएको हो, हिजो हतारमा एकता गरेर सफल गर्न नसकेका नेताहरूलाई पनि मोर्चाको बाटो गरी जाऔँ’, प्रचण्डले भने, ‘नेकपाले आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अघि बढाउनेछ भन्ने विश्वास लिएको तर दुर्भाग्य जनताको अपार समर्थनका बाबजुद नेकपा बचाउन सकेनौ ।’
मोर्चा कुनै परिवर्तनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग समुदायको अधिकारका पक्षधरहरूका विरुद्ध परिलक्षित नभएको दाहालले बताए । उनले भने समाजवादी मोर्चा सबैलाई समेटेर नयाँ शिराबाट देशको राष्ट्रिय एकता, स्वाधीनता र जनताको हक अधिकारलाई सुनिश्चित गर्ने, समाजवादको नयाँ युगतिर लैजाने गम्भीर जिम्मेवारीबोध सहित गठन भएको छ ।