काठमाडौँ — मिटरब्याजबाट पीडित आन्दोलनकारीहरूले सोमबार काठमाडौंको खुलामञ्च अगाडि प्रदर्शन गरे। खुलामञ्चभित्र प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले रोक्ने क्रममा धकेलाधकेल भएको छ ।
प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि सयौंको संख्यामा रहेका उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी गरिरहेका छन् । पीडितहरूले मिटरब्याजीलाई कारबाही गर, सहुलियत दरमा ऋणको व्यवस्था गर, तमसुक व्यवस्था खारेज गर, मिटरब्याजविरुद्ध कानुन निर्माण गरु लगायतका नारा लगाएका छन।

प्रदर्शनमा सहभागी अधिकांश पीडितहरू बर्दिबासदेखि ११ दिनको पैदलयात्रा तय गरेर आइतबार काठमाडौं उपत्यका प्रवेश गरेका थिए । यसअघिका आन्दोलनमा सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको भन्दै प्रधानमन्त्री समक्ष आफ्ना माग फेरि सुनाउन भन्दै उनीहरू बर्दिबासदेखि पैदल यात्रा गरेर काठमाडौं आएका हुन।