काठमाडौं । देशभर मौसममा क्रमिक सुधार आउने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालनजिकै रहेपनि जलवाष्पयुक्त वायु कम हुनाले आजदेखि तुलनात्मक रूपमा मौसम सुधार हुँदै जानेछ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्।दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान् छ।
काठमाडौं उपत्यकामा आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन्। राति कोशी, गण्डकी र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान् छ। अबको केही दिनमा मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सर्ने प्रक्षेपण छ। त्यसकारण पनि मौसम सुधारिने बताइएको छ।