बागलुङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलहरुबीचको गठबन्धनले नेपालमा लोकतन्त्र कमजोर बनेको बताएका छन । अहिले नेपाली समाजमा जुन रुपमा अराज असन्तुष्टि देखिएको छ,त्यसको मुख्य कारण दलहरु बिचको गठबन्धन भएको बताएका छन ।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नं.१ को क्षेत्रीय सम्मेलनको मंगलबार बागलुङ सदरमुकाममा उदघाटन गर्दै थापाले भने, नेपालका सबै दलहरु एक भए पनि आगामी निर्वाचनमा नेपाली काग्रेस एक्लै मैदानमा उत्रने छ । चुनाव र सत्ता प्राप्तीको लागि दलहरु गठबन्धनमा हाम फालेकै कारण देशमा नागरिकबिच असन्तुष्टि बढेको बताए । उनले गत निर्वाचनमा गठबन्धन लोकतन्त्रको आधारभूम मुल्य र मान्यता बिपरितको भएको धारणा राखे ।
उनले सरकारले थालेको भ्रष्टाचार न्यूनिकरणको अभियानमा कांग्रेसको पूर्ण समर्थन रहेको बताए । भ्रष्टाचारमा मुछिने जुनसुकै पार्टीका नेता तथा कार्यकर्तालाई जोगाउन नसक्ने उनको भनाई छ । उनले पार्टी भित्रको गुटलाई अन्त्य गर्न आफु लागिरहेको बताएका छन । पार्टी भित्रको लोकतन्त्रलाई मजबुद बनाउन लाग्नुको बिकल्प नभएको उनको भनाई छ ।
कार्यक्रममा नेपाली कांग्रेसी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्का, गण्डकी प्रदेश समितिका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, कांग्रेस बागलुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य जीतबहादुर शेरचन लगायतले मन्तव्य व्यक्त गरेका थिए । क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षता, उपसभापति हरिबहादुर जिसीको स्वागत र सचिव जयराम भारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
