बागलुङ । मापदण्ड र पूर्वाधार अभावको कारण बन्द रहेको चार पाङग्रे सवारी साधनको लाइसेन्स परीक्षा एघार बर्षपछि बागलुङमा सञ्चालन गरिएको छ । सामान्य पोल र ग्राउन्डमा सञ्चालन हुदै आएको चार पाङग्रे सवारी साधनको लाइसेन्स परीक्षा सरकारले २०६९ सालमा नयाँ मापदण्ड जारी गरेपछि बागलुङमा सञ्चालन हुन सकेको थिएन । यातायात व्यवस्था कार्यालय बागलुङले मापदण्ड र पुर्वाधार पुगेको निजी क्षेत्रसगं भाडामा लिएर लाइसेन्स परीक्षा शुरु गरेको छ ।
पहिलो पटकको बोलपत्रमा पूर्वाधार पुगेका नभेटिएपछि पुन दोश्रो पटक आब्हान गर्दा धौलागिरि ड्राइभिङ सेन्टर प्रालिसंग मापदण्ड पुगेकोले सम्झौता गरी यातायात व्यवस्था कार्यालय बागलुङले परीक्षा शुरु गरेको छ । सवारी लाइसेन्स परीक्षा संचालन तथा व्यवस्थापन मापदण्डले तोकेको पूर्वाधार अभावमा रोकिएको परीक्षा भने बुधवारदेखि शुरु भएको छ । लाइसेन्स परीक्षाको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले शुभारम्भ गरेका छन ।
'ए' र 'के' बर्गको प्रयोगात्मक परीक्षा हुदै आएकोमा अब भने चारपाङग्रे भित्रका बी, सि, इ, एफ र जी समूहको लाइसेन्स परीक्षा हुन लागेको छ । अहिले बी को परिक्षा लिन थालिएपनि अन्यको परिक्षापनि छिट्टै लिने कार्यालयका प्रमुख पारसिह थापाले बताए ।
बागलुङ नगरपालिका वडा नंं १ को गणेशस्थानमा रहेको ड्राइभिङ सेन्टरलाई स्थायी रुपमा परीक्षा संचालन गर्ने गरी सिसि क्यामेरा, सुरक्षा व्यवस्था र कर्मचारीको समेत व्यवस्थापन गरिएको छ । बागलुङमा चार पाङग्रे सवारी साधनको लाइसेन्स परीक्षा हुने भएपछि निकै सहज भएको म्याग्दीका ज्ञानेन्द्र शर्माले बताए ।
यस अघि चार पाङग्रे सवारी साधनको लाइसेन्स परीक्षाको लागि साविक धौलागिरी अञ्चलका परीक्षार्थीहरु पोखरा, बिरगञ्ज जाने गरेकोमा अब भने सहज हुने भएको छ । अनलाईबाट देशभरका परीक्षार्थीले परिक्षाको लागि फाराम भर्न सक्ने भएका छन ।