काठमाडौँ । डाक्टरमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु ठप्प पारिँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । नेपाल चिकित्सक संघले डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौंडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरेको विरोधमा आईतवार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गरेको हो ।
चिकित्सकहरुले भदौ २७ गते सन्चो अस्पताल हेटौंडामा डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीहरु अबिलम्ब पत्ता लगाई फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् ।
यसैबिच आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारको वार्ता टोलीबीच छलफल जारी छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव विकास देवकोटाको संयोजकत्वमा वार्ता भइरहेको छ । सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा। विकास देवकोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय मन्त्रालयका सहसचिव रहेका छन् ।