बागलुङ । नेकपा एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्गमा संकल्प यात्रा गर्ने भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १४ गते बिहान ८ बजे झुलाघाटमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर संकल्प यात्राको उद्घाटन गर्नेछन्।
नेकपा एमालेले थाल्ने संकल्प यात्रामा बागलुङमा पनि दुई दिन सम्म सञ्चालन हुने छ । एमाले बागलुङले मंगलवार पत्रकार सम्मेलन गरेर जिल्लामा मंसिरको २० र २१ गते सञ्चालन हुन लागेको जानकारी गराइएको छ । बागलुङमा हुने संकल्प यात्रा रुकुम सिमानाको पातीहाल्नेमा २० गते बिहान साँढे ८ बजे प्रवेश गरेपछि २१ गते दिउसो १ बजे सम्म नेताहरुले ६ वटा स्थानीय तहमा विभिन्न कार्यक्रममा सहभागि हुने एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए ।
एमालेको केन्द्रीय कमिटिको छैठौ बैठकले बैतडीको झुलाघाट देखि चिवाभञ्ज्याङ सम्म मध्य पहाडि पुष्पलाल लोकमार्ग समृद्धिकालागि संकल्प यात्रा गर्ने निर्णय गरेको थियो । एक हजार ७ सय ७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्गमा १४ गतेबाट संकल्प यात्रा सुरु हुने छ । १५० केन्द्रिय नेता सहभागी हुँने यात्राको तयारी बागलुङमा भईरहेको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख गणेश पौडेल बताए ।
संकल्प यात्रामा केन्द्रीय पदाधिकारी, केन्द्रीय निकायका अध्यक्ष र प्रमुख, भूगोल कार्यक्षेत्र नभएका स्थायी कमिटीका सदस्य र स्वास्थ्यकर्मीहरु टोलीमा रहनेछन् । ओलीको नेतृत्वमा सञ्चालन हुने अभियान ३ हप्तासम्म चल्ने छ। एमालेले २०७३ सालपछि लामो संकल्प यात्रा गर्न लागेको हो। २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनपछि २०७३ सालमा मेची–महाकाली यात्रा तय गरेको थियो।