काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्ने भएका छन । युएईको दुबईमा भोलिदेखि सुरू हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलन (कोप २८) मा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल आज युएई जान लागेका हुन्। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बेलुका साढे ९ बजेको फ्लाइटमार्फत युएई प्रस्थान गर्नेछन्।
कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ ।
यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ । जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानि नोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्ने छ ।
१३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुने कार्यसूची रहेको मन्त्रालयले जानकारी दिएको छ ।