काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा स्वर्णिम वाग्ले मनोनयन भएका छन् । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रतिनिधिसभा सदस्य वाग्लेलाई उपसभापति चयन गरेको हो ।
महोत्तरीको जलेश्वरमा बुधबार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले मनोनयन गरेको छ । त्यस्तै रास्वपाको कोषाध्यक्षमा लीमा अधिकारी मनोनयन भएकी छन् । सहमहामन्त्रीमा सांसद सुमना श्रेष्ठ र विपिन आचार्यलाई चयन गरिएको छ । सहप्रवक्तामा सांसद मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई मनोनयन गरिएको छ । सहकोषाध्यक्षमा दीपक बोहोरा र बसुमाया तामाङलाई जिम्मेवारी दिइएको छ ।
पार्टीका १४ सांसदलाई केन्द्रीय समितिमा मनोनयन समेत गरेको छ । पार्टीका ६ सांसद यसअघि नै केन्द्रीय सदस्य थिए । पार्टीको विधानअनुसार सात जना प्रदेश सभापति पनि केन्द्रीय सदस्य रहनेछन् । पार्टीको केन्द्रीय सदस्यको संख्या ६० पुगेको छ । रास्वपाले २१ सदस्यीय सचिवालय पनि गठन गर्ने निर्णय पनि गरेको छ । बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको छ ।