कांग्रेसले नागरिकलाई भरोसा दिन सक्नुपर्छ –केन्द्रीय सदस्य सिवाकोटी
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले नेपाली कांग्रेसले
जनतालाई भरोसा दिन सक्नुपर्ने बताएका छन् । शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकमा नेता सिवाकोटीले यस्तो धारणा राखेका हुन् ।
राजनीतिक नेतृत्वले व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न नसकेकाले जनता रिसाएको बताउँदै जनताको अवस्था बदल्नुपर्ने धारणा राखे । आम नागरिक सरकारसँग कति खुसी छन् र कार्यकर्ता पार्टी नेतृत्वसँग कति खुसी छन् भनेर समीक्षा गर्नुपर्ने बेला आएको उनले बताए । नेपाली कांग्रेस ९ मन्त्री सहित सरकारको साझेदार, ४ वटा प्रदेश, ३ सय ३२ पालिका, २६ सय भन्दा बढी वडामा नेतृत्व गरे पछि सबैतिर अत्यन्तै निराश देखिएकाले समीक्षा गर्नुपर्ने बताए । ‘नागरिक सबैभन्दा बढी कुशासनका कारण रिसाएका छन्,’ सिवाकोटीले भने, ‘हामीले नागरिकलाई भरोसा दिन सक्नुपर्छ ।’
भ्रष्टाचार चरम सीमामा रहेकाले न्यूनिकरणका लागि पहल गर्नुपर्ने उनले बताए । एनसेल, टेरामक्स, स्टक एक्सचेन्ज, सहकारी, सुनकाण्ड जस्ता अनेक काण्डहरु बाहिर आएको उनले बताए । ‘सुशासनले भन्दा पनि नयाँ नयाँ काण्डहरुले भ्रष्टाचारका पुराना काण्डहरुलाई ओझेलमा पार्दै गएको छ।,’ सिवाकोटीले भने, ‘संचारमाध्यममा आएका काण्डहरुलाई मात्र समेट्ने हो भने पनि औंलामा गन्न गाह्रो छ । सबै काण्ड शिर्ष नेतृत्व र उनका संरक्षीतहरुकहाँ गएर टुंगिनु चिन्ताको विषय हो ।’
केन्द्रीय सदस्य सिवाकोटीले नयाँ पुस्तासँग कांग्रेस अभियानको आवश्यकता रहेको बताए । उनले नेपाली कांग्रेसको महाधिवेशन भएको २ बर्ष पुरा भएर तेस्रो बर्षमा लागेको बताउँदै विधानत २०८२ मंसिर भित्र १५ औं महाधिवेशन गर्न अब समयवद्ध कार्यतालिका ल्याउनु ढीलो गर्न नहुने बताए । ४ बर्षे कार्यकालको आधा समय व्यतित गर्दा विधान कार्यान्वयनमा यो कार्यसमिति चुक्दै आएको सिवाकोटीको धारणा छ । केन्द्रीय समितिले पूर्णता पाइसके पनि अझै कोषाध्यक्षको नियुक्तीमा अलमल बुझ्न नसकिएको उनले बताए ।
एक बर्षे कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहालले पुरा गरे पनि प्रमले अपेक्षा अनुसारको काम हुन नसकेको बताए । सरकारको मुख्य हिस्सेदार दल काग्रेसका मन्त्रीहरुले समेत काम गर्ने नसकेको आरोप पनि रहेको सिवाकोटीले धारणा राखे । राष्ट्रिय सभाको उमेद्वार र उमेद्वारको लागि मापदण्ड बनाउन माग गरे ।