Logo

Jul 30 2026 | २०८३, साउन १४गते

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक रहेन : पत्रकार महासंघ


स्वतन्त्र
आइतबार, पुस १५ २०८०१२:११
  • 484
    SHARES

  • प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक रहेन : पत्रकार महासंघ

    काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको  नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार  सन् २०२३ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेका छन् । सन् २०२२ माभन्दा यो वर्ष अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेका हुन । 

    images
    images

    सन् २०२२ मा ५३ वटा प्रेस स्वतन्त्रता हननका घटना रेकर्ड भएकामा सन् २०२३ मा ५८ वटा घटना महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा रेकर्ड भएको महासंघले जनाएको छ । त्यस्तै सन् २०२३ मा १३ पत्रकार महिला र ७४ पुरुष पत्रकार प्रभावित भएका छन् । सन् २०२२ मा १३२ पुरुष र १८ पत्रकार महिला प्रभावित भएका थिए । त्यस्तै यो वर्ष ५ वटा सञ्चार संस्था प्रभावित बनेका छन् भने २०२२ मा ६ वटा सञ्चार संस्था प्रभावित भएका थिए ।

    राजनीतिक दलका नेता र सरकारका जिम्मेवार पदमा बसेका व्यक्तिबाट पटक पटक प्रेसमाथि विभिन्न प्रकारका आरोप लगाउने, पुष्टि नहुने तर्कसहित समग्र मिडियाप्रति नै लाञ्छित गर्नेलगायतका कार्य सन् २०२३ मा भएको भन्दै महासंघले राजनीतिक दल र सरकारका विभिन्न पदमा बसेका व्यक्तिलाई पदीय मर्यादा, विश्वव्यापी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारप्रति प्रतिवद्ध हुन आग्रह गरेको छ ।

    नेपाल पत्रकार महासंघले सन् २०२३ मा विभिन्न सञ्चार गृहमा देखिएका श्रम समस्या अर्थात् पेशागत असुरक्षालाई मुख्य चुनौतिको रुपमा लिएको छ । ‘विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रेस स्वतन्त्रता हननका विभिन्न घटना नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा अभिलेख भएका छन् । यस वर्ष पत्रकारको पेशागत असुरक्षा मुख्य चुनौतिको विषय बनेको छ,’ नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस