काठमाडौं–नेपालमा जन्मेर बेलायतको कोभेन्ट्रीलाई कर्मथलो बनाएका नेपालीहरुले जाजरकोट र रुकुमका भुकम्प पीडितलाई विभिन्न सामग्री प्रदान गरेका छन् । कोभेन्ट्री नेपाली समाज युकेले भूकम्पमा परेर घरबारविहीन भएका परिवारलाई चार लाख छत्तिस हजार रुपैयाँ बराबरका ब्लाङ्केट, विद्यार्थीलाई स्वीटर र झोला, पत्रकारलाई ज्याकेट लगायतका सामग्री प्रदान गरेको हो । कोभेन्ट्री समाजको सहयोगले तीन सय जनालाई राहात पुगेको छ ।
भूकम्पले घर भत्किएर पाल तथा छाप्रोमा रात विताइरहेका भेरी नगरपालिका जाजरकोटका पीडितलाई न्यायोका लागि ब्लाङ्केट प्रदान गरिएको छ । जाजरकोटमा प्रदेश सांसद राजिब बिक्रम शाहले कोभेन्ट्री नेपाली समाज युकेले पठाएका ब्लाङ्केट पीडित परिवारलाई हस्तान्त्रण गरेका थिए । राहात हस्तान्त्रण गर्दै सांसद शाहले कोभेन्ट्रीमा बस्ने नेपालीलाई धन्यवाद दिए । आफ्नो जन्मभुमीमा दुःख परेको बेला विदेशमा बस्ने नेपालीले सम्झेर राहात सामग्री प्रदान गरेकोमा खुशी व्यक्त गरे । कोभेन्ट्री नेपाली समाज युकेमार्फत पीडितलाई ढेढ सय थान ब्लाङ्केट हस्तान्तरण गरिएको थियो ।
अधिकांश राहातहरु राजमार्ग आसपास र सदरमुकाम नजिक वितरण गरिरहेको अवस्थामा दुर्गम क्षेत्रमा आएर राहात वितरण गरेको भन्दै भेरी नगरपालिका जाजरकोट वडा नम्बर २का पूर्व वडाध्यक्ष कालीबहादुर ओलीले कोभेन्ट्री नेपाली समाज युकेलाई धन्यवाद दिए । भूकम्पले घर भत्किएर चिसोको समयमा पालमा बसिरहेका पीडितलाई ब्लाङ्केटले ठूलो सहयोग पुगेको बताए । त्यसैगरी, रुकुमका भूकम्प पीडितलाई पनि ५० थान ब्लाङ्केट प्र्रदान गरिएको छ ।
त्यसैगरी,भूकम्पबाट प्रभावित भएका विद्यार्थीलाई न्यायो स्वीटर तथा झोला पनि प्रदान गरिएको छ । विद्यार्थीहरु एकसरो कपडा लगाएर पालमुनी बसिरहेको अवस्थामा विजय प्रा.वि. भेरी नगरपालिका जाजरकोटका विद्यार्थीलाई स्वीटर प्रदान गरिएको हो । जाडोमा स्वीटरले विद्यार्थीलाई चिसोबाट बच्न सघाउ पुग्ने विजय प्रा.वि. जाजरकोटकी प्रधानाध्यापक शोभा सिंहले बताइन् । जाजरकोटकै विद्यालयमामा अध्ययनरत भूकम्प पीडित विद्यार्थीलाई झोला वितरण गरिएको छ । त्रिभुवनमावि खलंगाका विद्यार्थीलाई झोला वितरण गरेकोमा विद्यालयका शिक्षक राजेन्द्र कार्कीले कोभेन्ट्री नेपाली समाजप्रति आभार व्यक्त गरे ।
त्यसैगरी, सञ्चारको माध्यमबाट योगदान पु¥याएका जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडित पत्रकालाई कोभेन्ट्री नेपालीसमाज युकेको सहयोगमा न्यायो ज्याकेट प्रदान गरिएको थियो । नागरिक दैनिकमा कार्यरत पत्रकार नेपाल प्रेस युनियनका महासचिव दिलीपपौडेलको समन्वयमा कोभेन्ट्री नेपाली समाजमार्फत ५० पत्रकारलाई न्यायो ज्याकेट प्रदान गरिएको छ । भूकम्पबाट प्रभावित पत्रकारलाई बेलायतमा बस्ने नेपालीले सम्झिएकोमा नेपाल पत्रकार महासंघ पश्चिम रुकुमका अध्यक्ष लक्ष्मण के.सी.ले धन्यवाद दिए ।
जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलोधनजनको क्षतीभएकाले विपतमा रहेका पीडितलाई सहयोग पठाएका कोभेन्ट्री नेपाली समाज युकेका अध्यक्ष सन्तोष पौडेलले बताए । भूकम्पले घरबारविहीन भएकालाई राहात दिने उद्देश्यले कोभेन्ट्रीमा बस्ने नेपालीहरुसँग रकम संकलन गरेर सहयोग गरेको कोभेन्ट्री नेपाली समाज युकेका सचिव बाबुराम भुसालले बताए ।