काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचना परिवर्तन गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता राजीव पोखरेलका अनुसार रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा १७ बमोजिमको निर्देशक समितिको बैठकबाट आगामी आर्थिक वर्ष २०८१ /०८२ बाट आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।
स्थानीय तह मातहतको रोजगार सेवा केन्द्रबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाहका लागि नीतिगत र कानुनी आधार निर्माण गर्ने र श्रम बजारको नतिजामा सुधार हुने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचनामा परिमार्जन एवम् आन्तरिक रोजगार प्रवर्द्धन महाशाखा गठन गर्ने निर्णय भएको बताईएको छ ।
दिगो आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको प्रमुख आधार नै उत्पादनशील रोजगारी रहेको हुनाले नीतिगत, वस्तुगत र विकास रणनीतिहरूमा पूर्ण उत्पादनशील रोजगारीलाई अघि सार्नुपर्ने अवस्था बनेको मन्त्रालयले जनाएको छ।