बागलुङ । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नवनिर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यले सपथ ग्रहण गरेका छन । नवनिर्वाचित संस्थाका अध्यक्ष के.वि राना सहित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले आइतवार सपथ ग्रहण गराएका छन ।
सपथ ग्रहण कार्यक्रममा बोल्दै बागलुङ नगरपालीका प्रमुख बसन्तकुमार श्रेष्ठले खानेपानीको बिषयमा उठदै आएका गुनासाहरु सम्बोधन गर्न लाग्नुपर्ने बताए । संस्थाले वितरण गर्दै आएको खानेपानीलाई नागरिक समक्ष स्वच्छ,सफा र प्रयाप्त बनाउन नगरपालिकाको तर्फबाट पनि सहयोग गर्दै जाने बताए ।
संस्थाका नवनिर्वाचित अध्यक्ष रानाले खानेपानी बिषयमा समय समयमा उठने गरेका बिषयहरुलाई समाधान गरि अगाडी बढने प्रतिबद्धता जनाए । पारदर्शी,सुशासन,उपभोक्ताको गुनासो सम्बोधन, निमार्णाधिन लिफ्टिङ खानेपानी आयोजना सम्पन्न गर्न र दक्ष प्राविधिक राख्ने लगाएका काम पहिलो आफुहरुको हुने बताए । उनले योजना बनाएर काम गर्दै जाने बताए । सपथ ग्रहण कार्यक्रममा बागलुङ नगरपालिका उपप्रमुख राजु खडकाले निर्वाचित समितिलाई बधाई दिएका छन ।
९ सदस्य समितिको लागि शनिवार भएको निर्वाचनमा राना प्यानल र जयराम भारी प्यानल गरि दुई समुहबिच चुनाव भएको थियो । राना प्यानलबाट अध्यक्ष,सचिव,कोषाध्यक्ष र ३ सदस्य गरि ६ जना र भारी प्यानलबाट १ उपाध्यक्ष, २ सदस्य गरि ३ जना उम्मेदवार विजयी भएका भएका थिए ।
उपाध्यक्षमा हरीबहादुर जिसी (सन्तोष), सचिवमा जीवन आचार्य , कोषाध्यक्ष कृष्ण शर्मा ,सदस्यमा राना प्यानलबाट कुलराज शर्मा (हिमाल) , कालिका सापकोटा, हुमादेवी खड्का र भारी प्यानलबाट सदस्यमा शिव आचार्य र गुमादेवी श्रीष छन्त्याल निर्वाचित भएका थिए । निर्वाचित समितिको कार्यकाल ४ बर्षको रहने छ ।
निर्वाचन समितिका संयोजक बरालको अध्यक्ष र सदस्य सचिव कृष्णप्रसाद गौतमको संचालनमा सपथ ग्रहण कार्यक्रम भएको थियो ।