काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटना सँगै मानवीय क्षति हुन थालेपछि पाँच सदस्यीय कार्यदल गठन गरेको छ । दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति हुन थालेपछि भौतिक र प्राविधिक पक्षका त्रुटिहरु पत्ता लगाउन कार्यदल गठन गरिएको हो ।
सडक दुर्घटनाका त्रुटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा पाँच सदसीय कार्यदल गठन गरिएको छ । कार्यदललाई विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्न, सडक दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्ने गरी जिम्मेवारी दिइएको छ ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस शुक्रबार राति दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए । त्यस्तै थानकोट चित्लाङमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो । शनिबार बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो ।
दुई दिनभित्र १९ जनाको ज्यान गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौतिक तथा प्राविधिक त्रुटि पत्ता लगाउन कार्यदल गठन गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले बताए । कार्यदलललाई सडक दुर्घटना न्यूनीकरणका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरु सुझाउन पनि जिम्मेवारी दिइएको बिष्टले बताए ।