बागलुङ । स्वास्थ्यकर्मी माथि भएको दुर्व्यवहार घटना प्रति नेपाल ट्रेड युनियन काँग्रेस बागलुङले खेद व्यक्त गरेको छ । नेपाल ट्रेड युनियन काँग्रेस बागलुङले एक प्रेस विज्ञप्ती प्रकाशन गरि बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक एवं जनस्वास्थ्य निरिक्षक विपेन्द्र के. सी.लाई माघ ७ गते कार्यालय जाँदै गर्दा आकस्मिक रुपमा गरिएको दुर्व्यवहार घटना प्रति भर्सना गरेको छ ।
अध्यक्ष ईश्वर ठाकुर पौडेल र सचिव बिर बहादुर किसानको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,स्वास्थ्य सेवामा कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीको मनोवन गिराउने यस्ता कार्यप्रति घोर भर्सना गर्दछ । घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कानुन बमोजिम कारबाही गरि पिडितलाई न्याय दिलाउन,आगामी दिनमा कार्यस्थलमा सुरक्षाको प्रत्याभुति दिलाउन र भएरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्ने ग्यारेन्टीको लागि विज्ञप्तीमार्फत सरकारसंग माग गरिएको छ ।
यस्तै स्वास्थ्यकर्मी माथि भएको दुर्व्यवहार घटना प्रति बागलुङका ४ वटा निजामती कर्मचारी संगठनले समेत संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन बागलुङ अध्यक्ष श्याम कुमार थापा मगर, नेपाल निजामती कर्मचारी यूनियन अध्यक्ष देव शर्मा आर्चाय, राष्ट्रिय कर्मचारी संगठन निजामती बागलुङका सदस्य खग्रेन्द्र वि.क.र एकीकृत सरकारी कर्मचारी संगठन नेपालका सचिव शकुन्तला थापाको संयुक्त रुपमा हस्ताक्षर गरि प्रकाशित भएको विज्ञप्तीमा दोषीलाई कारबाही गर्दै, भयरहित रुपमा सेवा गर्ने वातावरण सिर्जना गर्न माग गरिएको छ ।