पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता /अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट पर्वतकी मनरुपा शर्मा निर्वाचित भएका हुन् ।
श्रेष्ठले ३ हजार ८०८ मतभार ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले दुई हजार ४७७ मतभार प्राप्त गरे । अपांगता/अल्पसंख्यकतर्फ कांग्रेसका परियारले तीन हजार ७७९ मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले दुई हजार ४५८ मतभार पाए ।
महिलातर्फ माओवादी केन्द्रीकी शर्माले तीन हजार ६६० मतभार पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले दुई हजार ५५३ मतभार प्राप्त गरिन् । गण्डकीमा कुल मतभार ६ हजार १४० थियो । ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १७० गरी कुल २३० मतदाता थिए । गठबन्धनमा आबद्ध दलहरूको मतभार तीन हजार ८२७ थियो ।