काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले १०, माओवादीले ५, नेकपा एसले २ र एमाले तथा जसपाले एक एक सीट जितेका छन् । कोशीमा एमाले राप्रपा गठबन्धनले एक सीट जितेको छ । गठबन्धनबाट फ्लोर क्रस भएपछि एमालेकी रुक्मिणी कोइरालाले अनपेक्षित जीत हात पारिन् । उनले सत्ता गठबन्धनतर्फ माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गरिन् ।
कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द ढुङ्गाना, जीतजंग बस्नेत, विष्णुकुमारी पुडासैनी, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट राष्ट्रियसभामा चुनिएका छन । माओवादीबाट श्रीकृष्ण अधिकारी, मनरूपा शर्मा, झक्कु सुवेदी, विष्णु विश्वकर्मा र रेणु चन्द राष्ट्रियसभामा आएका छन् । नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल विश्वकर्मा र सावित्री मल्ल, जसपाबाट पूजा चौधरी निर्वाचित भएर राष्ट्रियसभामा आएका छन् ।
अहिले राष्ट्रिय सभामा १८ सांसद रहेको एमालेका ९ सांसद बिदा हुँदा १ सीटमात्रै सुरक्षित गर्न सफल भयो । कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाको एक र एक स्वतन्त्र सांसदको पदावधि सकिँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सीटमा जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सहमति गठबन्धनमा भइसकेको छ ।