बागलुङ । दीर्घकालीन गुणस्तरीय शिक्षाको विकासको लागि बागलुङको गलकोट बहुमुखी क्याम्पसमा श्रीमदभागवत शैक्षिक ज्ञानमहायज्ञ सञ्चालन गरिने भएको छ । आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म क्याम्पसमा श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञ गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।
गलकोट क्षेत्रकै एक मात्र सामुदायिक क्याम्पसको १९ औं वार्षिकोत्सवको अवसरमा सप्ताह व्यापी संगीतमय कथा प्रवचन सहित महायज्ञ सञ्चालन गर्न लागिएको क्याम्पसका अध्यक्ष एवं महायज्ञ मुल समारोह समितिका संयोजक घनश्याम शर्माले जानकारी दिए। विश्व बजार अनुकुलका विभिन्न विषयहरु थप गर्ने तथा हाल सञ्चालन हुँदै आएका विषयहरुको समेत स्तरोन्नती गरी स्नातकोत्तर तहका कक्षाहरु र प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यले महायज्ञ आयोजना गर्न लागिएको शर्माले बताए ।
श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञ मार्फत २० करोड रकम संकलन गर्ने लक्ष्य रहेको श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञ आर्थिक समितिका संयोजक राम प्रसाद शर्माले बताए ।
महायज्ञबाट संकलित रकमले क्याम्पसको २० रोपनी भन्दा बढी जग्गा खरिद गरिअध्ययन अध्यापन भवन, प्रशासनिक भवन, छात्रावास भवन, स्मृती कक्ष तथा सभा भवन, पुस्तकालय कक्ष, प्रयोगात्मक कक्ष, खेलकुद मैदान र स्मृती पार्क लगायतका संरचना समेत निर्माण गर्ने लक्ष्य राखिएको क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले बताए ।
क्याम्पसको शैक्षिक भौतिक विकासका लागि आर्थिक व्यवस्थापन मुख्य चुनौती रहेकाले वार्षिकोत्सवको अवसरलाई सदुपयोग गरी महायज्ञ आयोजना गरिएको र देश विदेशमा रहेका व्यक्तिले समेत सहयोग गर्ने अपेक्षा गरिएको छ । महायज्ञमा भागवत भाष्कर श्री कमलनयन गौतमज्यूको प्रमुख वाचकत्वमा दैनिक संगीतमय भजन कृतन, नृत्य पाठ पुजा लगायतका कार्यक्रम रहने सहायक क्याम्पस प्रमुख चुडामणी शर्माले बताए ।
वि.सं.२०६१ मा स्थापना भएको क्याम्पसमाशिक्षा शास्त्र र वाणिज्य संकायमा स्नातक तहको पठनपाठन हुँदै आएको छ । हाल क्याम्पसमा गलकोट नगरपालिका सहित, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकाका गरी २५७ विद्यार्थी अध्ययन गर्दै आएका छन ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको संयोजकत्वमा महायज्ञ मूल समारोह समिति र २६ वटा विभिन्न उपसमिति गठन गरि महायज्ञको तयारी तिव्र पारिएको छ । यस अगाडि वि.स.२०६१ फाल्गुण १४ गतेदेखि २२ गतेसम्म विश्वशान्ति धनधान्यान्चल महायज्ञ आयोजना गरी संकलित रकमबाट क्याम्पसको भवन निर्माण तथा शैक्षिक व्यवस्थापन गरीएको थियो ।