काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो ।अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले चार वर्षअघि अर्थात् २०७६ माघ २२ गते १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ललिता निवासको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनालाई बिगो र जरिवाना तथा ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरेको थियो ।
यो अख्तियारले दायर गरेको अहिलेसम्मकै ठूलो भ्रष्टाचारको मुद्दा रहेको छ ।