रौतहट । सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन रौतहटमा कर्फ्यु आदेश जारी गरेको छ। ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो। झडपमा केही स्थानीय घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको बताए। पूर्वमा जोकाहा, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकाल सम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ ।
‘विवादलाई सामान्यीकरण गर्न दुई पक्षबिच छलफलको बाबजुत पनि स्थिति सामान्य नभएकोले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुन जाने स्थिति देखिएकोले तपसिल सीमा क्षेत्र भित्र कसैले आवत जावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न, भेला गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ ऱ्याली गर्न, एवं अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०।११।०५ गते बेलुका ५.०० बजे देखि अर्को आदेश नभए सम्मको लागी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) कर्फ्यु आदेश जारी गरिएको छ।’ प्रमुख रेग्मीद्वारा जारी आदेशमा भनिएको छ।