बागलुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नै माटोको माया गर्ने जनशक्ति बनाउने शिक्षा आजको आवस्यकता भएको बताएका छन् । बागलुङ गलकोट बहुमुखी क्याम्पसको शैक्षिक विकास र संकाय थप गर्ने लक्षले आइतबारदेखि श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले भने, अबका शैक्षिक संस्था र शिक्षकले आफ्नै माटोको माया गर्ने जनशक्ति उत्पादन गर्नुपर्छ ।
पाण्डेले भौतिक पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारले साथ दिने भन्दै नैतिक शिक्षा र राष्ट्रभक्ति सिकाउने काम समाजको भएको बताए । ‘विकास निर्माणमा त सरकारले साथ दिन्छ, तर युवा पलायन रोक्ने काम समाजको हो’ पाण्डेले भने, ‘उत्पादन, बजार र रोजगारीमा युवा जोडिनुपर्छ ।’
पाण्डेले हिजोको जस्तो संस्कार हराएकोमा चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता खलबलाएर आम नागरिकलाई बितृष्णा फैलाउन खोज्नेहरुबाट समाज जोगाउनु पर्ने धारणा समेत व्यक्त गरे । पाण्डेले बागलुङको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको अस्पताल बनाउने निर्णय भएको सुनाउँदै गलकोट नगर अस्पतालको पनि स्तरोन्नती गरेर उपचारका लागि सहर पस्न नपर्ने वातावरण बनाउन पहल गर्ने प्रतिवद्वता समेत जनाएका छन् ।
गलकोट बहुमुखी क्याम्पसले क्युएएको बाटोमा गएर आवस्यक संकाय थप गर्ने लक्षले महायज्ञ गरेको हो । २०६१ सालमा महायज्ञ गरेर खोलिएको यो क्याम्पस संचालनका लागि स्थानीयले १ करोड ९५ लाख सहयोग गरेका थिए । अहिले क्याम्पसले २० करोड संकलन गर्ने लक्ष राखेको क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले बताए । ८ दिनसम्म चल्ने महायज्ञको कथा बाचनका लागि भागवत भाष्कर कमल नयन गौतम आएका छन् ।
कार्यक्रममा राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका जिल्ला सभापति जित शेरचन र प्रमुख बाचक भागवत भाष्कर कमल नयन गौतम तथा गलकोट समाज पोखराका सचिव बबिन खत्रीले मन्तव्य व्यक्त गरेका थिए । गलकोट बहुमुखी क्याम्पस व्यवस्थाप समितिका अध्यक्ष घनश्याम शर्माको अध्यक्षता, गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको स्वागत र सहायक प्रध्यापक बीरबहादुर बोहोरा क्षेत्री र भगवान बोहोरा क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।