बागलुङ । सहज रुपमा स्वास्थ्य उपचार पाउन नसकेका बिरामीलाई लक्षित गरि बागलुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको आयोजनामा धौलागिरि अस्पतालमा चैत्र २३ र २४ गते स्वास्थ्य शिविर आयोजना गरेको हो ।
विभिन्न प्रकारका शारीरिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिने बागलुङमा पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराईएको छ । गण्डकी मेडिकल कलेज पोखरा, बागलुङ नगरपालिका र धौलागिरि अस्पतालसँगको समन्वयमा स्वास्थ्य शिविर हुने छ । विपन्न,असाहय बिरामीहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिए ।
शिविरमा स्त्रीरोग, हाडजोर्नी तथा नशा रोग, क्यान्सर, मुटुरोग, पिसाव रोग, लगायत विभिन्न रोगको निःशुल्क उपचार गरिने छ । दुई दिन सञ्चालन हुने स्वास्थ्य शिविरमा गण्डकी मेडिकल कलेज पोखराबाट १५ जना विशेषज्ञ डाक्टरहरुबाट बिरामीको उपचार सहित निःशुल्क औषधी उपलब्ध गराईने भएको छ ।
स्वास्थ्य सेवाको पहुँच दुरदराज सम्म अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले शिविर सञ्चालन गर्न लागेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले बताईन । पत्रकार सम्मेलन समाजका सचिव किस्मत मणि श्रेष्ठको सञ्चालनमा भएको थियो ।