बागलुङ । चैत २५ गतेदेखि बैशाख ६ गतेसम्म बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौरमा रमाइलो मेला सञ्चालन हुने भएको छ । चैत्राष्टमी अवसरमा दर्शकलाई थप मनोरञ्जन प्रदान गर्न बिभिन्न व्यापारीक स्टल ,स्थानीय घरेलुका उत्पादित बस्तु मेलाबाट सहजरूपमा बिक्रीवितरण हुने गरि व्यवस्था मिलाईएको कालीका गुठी ब्यवस्थापन समितिले जनाएको छ ।
कालीका भगवती मन्दिरमा मेला हेर्न आउने हिन्दु धर्मावलम्बी ,दर्शकहरूलाई थप मनोरञ्जन दिन र अन्य सामान खरिद बिक्रीको प्रवन्ध समेत मिलाईएको मेला आयोजकका बिनोद बुढाथोकीले बताए ।
कालीका गुठी ब्यवस्थापन समितिले भने ऐतिहासिक चैते दशैको अवसरमा यहीँ चैत ३० गतेदेखि बैशाख ५ गतेसम्म बाङ्गेचौर बालउद्यान परिसर भित्र राष्ट्रिय लोक दोहोरी प्रतियोगिता ,बिद्यालय स्तरीय नृत्य प्रतियोगिता ,छेलो प्रतियोगिता ,कालीका कप राष्ट्रिय खुला पुरूष भलिबल प्रतियोगिता ,राष्ट्रिय कलाकारको प्रस्तुति राखेर कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न गर्ने योजना बनाएको कालीका गुठीका अध्यक्ष कुमार खड्काले बताए ।
नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा चैते दशैको अवसरमा देशभरि बाट ५ लाख भन्दा बढी धार्मिक पर्यटक मन्दिर दर्शनको लागि आउने गर्छन् ।