टेक्सस । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । संघले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा रक्तदान, अन्तरक्रिया तथा वृक्षरोपण कार्यक्रमको आयोजना गर्यो ।
सन् २००७, अप्रिल २१ र २२ गते भर्जिनिया राज्यको आर्लिङटनमा भएको पहिलो अधिवेशनको मितिलाई आधार मानी संघले यो वर्षदेखि अप्रिल २१ लाई नेजा स्थापना दिवस अर्थात नेजा डे को रुपमा मनाउने निर्णय गरे अनुरुप विविध कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाईएको संघका महासचिव बाबुराम दाहालले जानकारी दिए।
संघले स्थापना दिवसको अवसरमा अप्रिल २० मा ब्लड डोनर्स अफ अमेरिका सँगको सहकार्यमा टेक्ससको युलेस शहरमा रहेको नेपाली सांस्कृतिक तथा आध्यामिक केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो भने अप्रिल २२ मा लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट 2X1, डलास एभरेष्ट लायन्स क्लब सहीतका लायन्स क्लबहरुसँगको सहकार्यमा टेक्ससको अर्भिङ शहरमा रहेको जेफरसन पार्कमा वृक्षरोपण गरिएको थियो ।
संघले स्थापना दिवसकै अवसरमा नेपाल पत्रकार महासंघका पदाधिकारीहरु, आफ्ना संस्थापकहरु, संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरु, पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, संस्थाका सदस्यहरु, गैर आवासीय नेपाली संघका अभियन्ताहरुको सहभागितामा अप्रिल २१ आईतवार अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । अन्तरक्रियामा प्रवासको पत्रकारिताका विविध आयाममाथि सहभागिहरुले धारणा राखेका थिए ।
संघले क्षेत्रगत रुपमा समेत अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, टेक्सस राज्यको युलेस र म्यासाच्युट राज्यको बोष्टनमा स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ । नेजा उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था हो ।
रचनात्मक ढंगका कार्यक्रम गरी संघको स्थापना दिवस मनाईएको बताउँदैं संघका अध्यक्ष सुरज भण्डारीले आगामी दिनमा संघमार्फत अमेरिका र नेपालमा पत्रकारिताको गुणात्मक विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्न लागिएको र सक्रिय पत्रकारका लागि फेलोसिप कार्यक्रम सुरु हुन लागेको बताए ।
नेपाल पत्रकार महासंघसँगको सहकार्यमा संघले २ लाख २२ हजार २ सय २२ धनराशीको नेजा ग्रामिण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।