बागलुङ । ऐतिहाँसिक तथा धार्मिक पर्यटकीय गन्तव्य गोलकोत कोतघरलाई नेपाली सेनाले जिर्णोद्वार तथा मर्मत सम्भार गर्ने भएको छ । बागलुङको गलकोट नगरपालिका वडा नं ३ मा रहेको गोलकोत कोतघरको जिर्णोद्वार गर्न लागिएको हो ।
कोतघरमा रहेका पुराना हात हतियारको संरक्षण सँगै त्यस क्षेत्रको सम्वर्द्वन गरी पर्यटन प्रर्वद्वन गर्न जिर्णोद्वार गर्न लागिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले जानकारी दिए। वडा अध्यक्ष खत्रीका अनुसार नेपाली सेनाको उक्त बजेट सहित स्थानिय जनश्रमदान गरि सहित झण्डै १५ लाखको लागतमा कोतघर जिर्णोद्वार गरिने छ ।
पुरानो कोत घर जिर्ण बन्दै गएकोले कोतघरको संरक्षण सम्वर्द्वन गर्ने उदेश्यले जिर्णोद्वार गर्न लागिएको गोलकोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर खत्रीले बताए।
नेपाली सेनाको द्रुत प्रभाव परियोजना (क्युआइपी) जनहित कार्यक्रम अन्तर्गत गलकोट नगरपालिकाले तयार गरेको प्राविधिक स्टिमेट अनुसार ९ लाखको लागतमा जिर्णोद्वार कार्य गरिने श्री मेहर गण घोडाबाँधे बागलुङका प्रमुख सेनानी धन रानाले जानकारी दिए ।
कोतघरमा जिर्णोद्वार तथा मर्मत सम्भारमा राख्नका आवश्यक पर्ने सामाग्रीका लागि वडा कार्यालय र गोलकोत मन्दिर व्यवस्थापन समिति सँग आवश्यक समन्वय गरिने श्री मेहर गण बागलुङका क्याप्टेन दुर्गा बहादुर थापाले बताए ।
गोलकोत कोतघर घुम्न आउने पर्यटकलाई सहजै जानकारी दिने उद्देश्यले कोतघरमा हतियारका साथै बाईसे चौबिसे राज्य हुँदाको बखत पुर्खाले लड्दाका बेला प्रयोग भएका सामग्री राखिने छ ।
जिर्णोद्वारको काम वैशाख अन्तिम साता देखि शुभारम्भ गर्ने गरि समझदारी गरिएको बताईएको छ । नागरिक सैनिक सम्बन्ध सुदृढ गर्न र जनताको आवश्यकतामा प्रत्यक्ष सहयोग गर्न नेपाली सेनाले समय समयमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।