Logo

Jul 30 2026 | २०८३, साउन १४गते

दुई महिनासम्म बुकिमै बसेर यार्साको खोजी, दिनमा भेटिन्छ २० देखि २५ वटासम्म


सोमबार, जेठ १४ २०८१०४:२२
  • 644
    SHARES

  • दुई महिनासम्म बुकिमै बसेर यार्साको खोजी, दिनमा भेटिन्छ २० देखि २५ वटासम्म

    जिल्लाको रघुगंगा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त छन्। बुकीमा ओढारमा बास बसेर पाइजासहित उनका साथीहरुले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गरिरहेका छन्।

    images
    images

    चिमखोलाको कालीबराह बुकीदेखि धौलागिरि आइसफल आधार शिविर क्षेत्रमा यतिबेला यार्सा संकलन गर्नेको भीड लागेको छ। चिमखोलाका करिब ५० जना अहिले यार्सा संकलनका लागि बुकीमै बास बस्ने गरेको पाइजाले बताए।

    ‘करिब दुई महिनासम्म हामी बुकीमै बसेर यार्सा संकलन गर्छौ, बिगतका तुलनामा यार्सा कम भेटिने गरेको छ, दिनमा २० देखि २५ वटासम्म मात्रै हामीले यार्सा संकलन गरिरहेका छौं,’ पाइजाले भने। यसअघिका वर्षमा दिनमा दुई सय वटासम्म यार्सा संकलन हुने गरेको बताउँदै उनले यस वर्ष यार्सा कम भेटिएको बताए।

    यार्सा सङ्कलकहरु यतिबेला बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन् । संकलन भएको यार्सा स्थानीय स्तरमा दुई सयदेखि २५० सम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा संकलन गर्दै गर्नुभएका गमान गर्बुजाले बताए।

    यार्सा संकलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् । म्याग्दीमा केही वर्ष अघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरुमा मात्रा घटेको छ। चालु आर्थिक वर्षमा आधा किलो यार्सागुम्बा संकलनका लागि मात्रै पुर्जी लिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी दिए।

    यार्सागुम्बा संकलन र निकासीका लागि राजस्व तिरेर संकलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ। हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा संकलनकर्ताले संकलन भएपछि मात्रै सोही बमोजिमको संकलन पुर्जी काट्न थालेका छन्।

    जिल्लाको चिमखोला, कुइनेमङ्गले, मल्कबाङ, मुदी, गुर्जालगायतका स्थानीयबासी अहिले लेकाली क्षेत्रमा यार्सा संकलनमा व्यस्त बनेका छन्। विशेष गरी वैशाखको मध्यदेखि जेठको अन्त्यसम्ममा हिमालको फेदीसम्म पुगेर जोखिम मोलेरै स्थानीयले यार्सा संकलन गर्ने गर्छन्।

    धवलागिरि गाउँपालिका–१ गुर्जाबाट करिब एक सय ५० जना यार्सा संकलनका लागी गुर्जा, चुरेन र पुथा हिमालको बुकीतर्फ गएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए। उनले यार्सा संकलन हिमाली क्षेत्रका बासिन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको बताए।

    यार्सा टिप्न जानेहरुले देवीदेवताको पूजापाठ गरी काम सुरु गर्छन्। यार्सा संकलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारी जस्तै बनेको छ। तर जोखिमपूर्ण तवरले सङ्कलित यार्साले उचित मूल्य नपाउँदा यार्सा संकलनकर्ताहरु निरास बन्न थालेका छन्।सर्वसाधारणबाट व्यवसायीहरुले प्रतिकिलो पाँचदेखि ६ लाखसम्ममा यार्सा खरिद गर्ने गरेका छन्। हालको बजारमूल्य प्रतिकिलो ८ देखि १० लाखसम्म रहेको जानकार बताउँछन्।



    प्रतिक्रिया दिनुहोस