बागलुङ । हेमराज शर्मा प्रतिष्ठान बागलुङले समाजसेवी सम्मान तथा पुरस्कार वितरण गरेको छ । वरिष्ठ समाजसेवी तथा शिक्षा साधक धिरोदात्त हेमराज शर्मा पौडेलको आठौँ स्मृति दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
प्रतिष्ठानले धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,साहित्यकार एवं समाजसेवी काजी रोशनलाई नगद ५ हजार रुपैया सहित वरिष्ठ समाजसेवीको रुपमा सम्मान गरेको छ । त्यसैगरि धौलागिरि बहुमुखी क्याम्पसबाट स्नातक तहमा सर्वोत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने छात्रा प्रतीक्षा गौतम, त्रिभुवन माध्यमिक विद्यालयका जेहेन्दार रेशम परियार र सुरक्षा शर्मा, जनमत माध्यमिक विद्यालय बाँस्कोटका सिजन रिजाल र विनिता नेपालीलाई जनही २ हजार ५ सय रुपैया नगद सहित पुरस्कृत गरिएको छ ।
कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पस बागलुङका क्याम्पस प्रमुख प्राध्यापक डा.रामप्रसाद उपाध्यायले शिक्षा मार्फत समाज परिवर्तनको रुपमा स्वर्गिय हेमराज शर्माको महत्वपुर्ण भुमिका रहेको बताए । त्यस्तै बलेवा पैयुँपाटा बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष चूडामणि शर्मा, त्रिभुवन माध्यमिक विद्यालयका अध्यक्ष डा.रामबहादुर केसी र पूर्वस्रोत व्यक्ति उमानाथ शर्मा लगाएतले स्वर्गीय हेमराजको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
कार्यक्रममा हेमराज शर्मा प्रतिष्ठानले निर्माण गरेको गीतको लोकार्पण समेत गरिएको छ। प्रेम गायकको रचना रहेको हेमराज शर्माको योगदानमा आधारित गीतमा वरिष्ठ गायक कृष्ण केसीले स्वर दिएका छन भने, प्रेम थापाले व्यवस्थापन र रेकर्डिङ गरेका छन । प्रतिष्ठानका अध्यक्ष किरण पौडेलको अध्यक्षता र सचिव कृष्णप्रसाद पौडेलको संचालनमा कार्यक्रम भएको थियो ।