काठमाडौँ । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरी उम्मेदवारी दिएका छन्। महासंघको महाधिवेशनका लागि अध्यक्षसहित १३ सदस्यीय पदाधिकारीमा कांग्रेस एमाले निकटले साझा उम्मेदवारी दिएका हुन् । चौतारीले अध्यक्षसहित ५ पदाधिकारी र युनियनले वरिष्ठ उपाध्यक्षसहित ८ पदाधिकारी लिने सहमतिसगै उम्मेदवारी दिएको छ।
युनियनबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, बैकुण्ठ पराजुली र अशोक तिवारी र प्रेस चौतारीबाट अध्यक्षमा निर्मला शर्मा, महिला उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, समावेशी सचिवमा सविन प्रियासन र लेखा समिति सभापतिमा उम्मेदवारी दिएका छन ।
महासंघमा कांग्रेस-एमालेले प्रदेश र जिल्ला पनि भागबन्डा गरेका छन्। कोशी, मधेस, कर्णाली र उपत्यका अध्यक्ष प्रेस चौतारीले लिने र बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसिएट र प्रतिष्ठान अध्यक्ष प्रेस युनियनले लिने सहमति छ। महासंघका ४३ जिल्ला शाखा अध्यक्ष प्रेस युनियनले र ३४ जिल्ला अध्यक्ष प्रेस चौतारीले लिने सहमति भएको हो।
महासंघ अध्यक्षमा नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालबाट अध्यक्षमा कमल गिरीले उम्मेदवारी दिएका छन्।गिरीको प्रस्तावक प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा र समर्थक समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी छन्।
प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च नेपाल संयुक्त प्यानल बनाएर महासंघको महाधिवेशनमा उम्मेदवारी दिएका हुन्। पत्रकार महासंघका महासचिव रहेका रोशन पुरीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।
महिला उपाध्यक्षमा गंगा बराल, महासचिवमा लेखनाथ न्यौपाने, कोषाध्यक्षमा रामकृष्ण अधिकारी, सचिवमा उत्तर विष्ट, मधेसी सचिवमा सिर्जना झा, महिला सचिवमा सरिता बराइली,दलित सचिवमा बसन्त विश्वकर्मा, आदिवासी जनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा विकास कार्की र लेखा समिति संयोजक ध्रुव रावलको उम्मेदवारी परेको छ। यसमध्ये उत्तर विष्ट र समावेशी उपाध्यक्षमा सुवास साह एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनका हुन्।