बागलुङ । कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले साउन महिनाको आय–व्यय विवरण सार्वजनिक गरेको छ। कालिका भगवती गुठिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको बैठकले आय–व्यय सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरण अनुसार गुठीले विभिन्न शीर्षकबाट ६८ लाख ३१ हजार एक सय ७० रुपैयाँ आम्दानी गरेको छ भने खर्चतर्फ १५ लाख २३ हजार एक सय रुपैयाँ खर्च गरेको जनाएको छ।
आम्दानीतर्फ सबैभन्दा बढी ५९ लाख एक हजार ६४० रुपैयाँ भाडाबाट संकलन भएको छ। त्यस्तै भेटीबाट छ लाख ८८ हजार ७८५ रुपैयाँ संकलन गरिएको छ। अन्य आम्दानी स्रोतहरूमा विवाह कार्यक्रम, आर्थिक सहयोग, चामल, बोका–बाख्रा लगायत रहेका कालिका भगवती गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।
खर्चतर्फ १५ लाख २३ हजार एक सय रूपैयाँ मध्य तलबमा,चार लाख नौ हजार, पुर्वाधार विकास तथा निर्माणमा नौ लाख ३१ हजार सात सय ,अतिथि सत्कार ५१ हजार बिजुली बत्ती लगायतका शीर्षकमा रकम खर्च गरिएको गुठीले जनाएको छ ।
कालिका भगवती गुठीले साउन महिनामा ५३ लाख ८० हजार ७० रूपैयाँ बचत गरेको जनाएको छ । कालीका भगवती गुठीले हरेक महिनाको पहिलो साता मन्दिरको आम्दानी खर्चको हिसाब किताब सार्वजनिक गर्दै आएको छ।