बागलुङ । बागलुङको पुरानो बलेवा विमानस्थल विगत ३४ वर्षदेखि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । वि.सं. २०२२ मा स्थापना भएको विमानस्थलले धौलागिरि क्षेत्रको पर्यटन र यातायातको सम्भावना बोकेको भए पनि नियमित उडानको अभावमा उपयोगविहीन बनेको हो ।
बागलुङ सदरमुकाम देखि १० किलोमिटर दक्षिण नारायणस्थान १४ मा रहेको बलेवा विमानस्थल पोखरा–बागलुङ राजमार्ग बनेपछि २०४८ सालपछि बन्द हुदै आएको छ । विमानस्थल बर्षैदेखि उपलब्धि विहीन र निमार्ण भएका संरचना पनि प्रयोग नहुँदै जीर्ण बन्दै गएको स्थानियबासी भरत पौडेलले बताउनुभयो ।
बिमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्गको कालोपत्रे र टर्मिनल भवन मर्मत, तारजाली लगाएत र अन्य संरचना निमार्णको लागि पटक पटक गरि अहिले सम्म झन्डै नौ करोड रुपैयाँ खर्च भईसकेको तथ्याङकले देखाएको छ । पछिल्लो पटक २०७८ सालमा कालोपत्रे र रङ्गरोगन सहित पूर्वाधार निमार्ण गरि चिटिक्क बनेको विमानस्थल अहिले प्रयोग विहीन भएको नारायणस्थानका स्थानीबासी योगेन्द्र पौडेलले बताउनुभयो ।
विमानस्थल सञ्चालको लागि प्रयास भईरहेको बागलुङ नगरपालिकाका प्रवक्ता एवं बा.न.पा.–१४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । सञ्चालनको लागि अन्तिम पटक पहल भईरहेको छ,उहाले भन्नुभयो, सबैको सहयोग र साथ आवश्यक पर्दछ ।
जिल्लामा विमानस्थल नियमित रुपमा संचालन भएमा बागलुङ,पर्वत र म्याग्दीका नागरिकलाई सहज हुनुका साथै कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसँग जोडिएर पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने छ ।