नेपाल एक बहुजातीय बहुभाषीक बहुसांस्कृतिक विविधतायुक्त समाज भएको देशको रूपमा परिचित रहेको छ । यहाँ विभिन्न धर्म भाषाभाषी, जातजाति परम्परा संस्कृति भएका मानिसहरू बसोबास रहेको छ । उनीहरूको आ आफ्नो धर्म संस्कृति परम्परा रीतिरिवाज चालचलन रहेको छ।
नेपाल विभिन्न धर्मालम्बीहरूको संगमस्थलको रुपमा रहेको छ । नेपालीहरूले आआफ्नो छुट्टै पहिचान झल्काउने विभिन्न धर्म, संस्कृति परम्परालाई निरन्तरता दिँदै आइरहेको अवस्था छ । नेपालमा जव नया वर्षको आरम्भ हुन्छ त्यस दिनदेखि प्रत्येक महिनामा एक वा एकभन्दा बढी चाडपर्वहरू परेको नै हुन्छ। तिनीहरूमध्येको एक पर्व माघे संक्रान्ति हो। माघे संक्रान्ति, मकर संक्रान्ति वा मागी पर्व रूपमा मनाउने गरिन्छ ।
हिन्दु परम्परा अनुसार बर्षमा दुईवटा अयन हुन्छन । तिनी अन्तर्गत महत्वपूर्ण अयनको रुपमा उत्तरायणलाई मानिन्छ यो अयन सौर्यमण्डलको सबैभन्दा ठूलो ताराको रूपमा रहेको सूर्यनारायणबाट १२ वटा राशीलाई प्रत्येक महिनामा परिक्रमा भईरहन्छ भन्ने मान्यता रहेको छ । तीमध्ये महत्वपूर्ण मानिन्छ धनु राशि बाट मकर राशिमा प्रवेश गरेको अवस्था मकर संक्रान्ति । जुन सूर्यनारायणले धनु राशिबाट मकर राशिमा प्रवेश गरेको अवसरमा मनाउने प्रचलन रहेको छ ।
जव सूर्यनारायण दक्षिण दिशाबाट उत्तरदिशा तर्फ सर्ने हुँदा दिनहरू क्रमश लामो हुने र रातहरू छोटा हुने गर्दछन्। साथै जाडो मौसम गर्मी मौसममा क्रमिक रुपमा परिणत हुँदै जाने गर्दछ। माघे संक्रान्तिको दिन नजिकको तीर्थस्थल गङ्गा नदी नाला गई नुहाई घरमा आई सूर्यनारायण लगायत ब्रह्मा विष्णु महेश्वर गणेश देवी भगवतिको पूजा आराधना गरी पौष महिनाको मसान्तिको दिन बनाएको तिलको लड्डु, चाकु, उसिनेर राखिएको तरुल सेलरोटी लगायत वस्तुलाई प्रसाद स्वरूप अर्पण गरी प्रसाद स्वरूप पुषको पाक्य माघको खाक्य भनी घर घरमा सपरिवारले प्रसाद स्वरूप ग्रहण गर्ने चलन रहेको छ।
माघे संक्रान्ति नेपालमा बस्ने विभिन्न समुदायमा आफ्नो मूल्य मान्यता परम्पराका परम्पराका साथ मनाउने प्रचलन रहेको छ । तराईमा बसोबास गर्ने थारु समुदायले माघी पर्वको रुपमा मनाउने गर्दछन् भने पहाडमा बस्ने बिभिन्न समुदायले एक आपसमा शुभकामना आदान प्रदान सहित विभिन्न कार्यक्रम गरि माघे संक्रान्ति पर्व मनाउने गरेको पाइन्छ ।
माघे संक्रान्तिको दिन सेलरोटी, घिउ, चाकु, तिलको लड्डु तथा मास लगायत अन्य खाद्यान्न वस्तुहरू मिसाई बनाइएको खिचडी खाने प्रचलन रहेको छ । उक्त दिन आफन्तजन इष्टमित्र चेलीबेटी लाई निमन्त्रणा गरी यथाशक्य दान दक्षिणा दिइ सोही दिनको मुख्य खानाको रुपमा रहेको खिचडी, सेलरोटी लगायतका मिष्ठान भोजनहरु गराउने चलन रहेको छ । यस्ता किसिमका खानाले शरीरमा तापक्रम बढाउने साथै शरीरलाई आवश्यक पर्ने पौष्टिक आहारा परिपूर्ति हुने हुदा शरीरमा प्रतिरोधात्मक क्षमता वृद्धि गरी निरोगी बनाउँछ भन्ने मान्यता रहेको छ।
निमन्त्रणा गरी बोलाइएका आफन्तजन ईष्टमित्रबिच सहयोग सद्भाव कायम गर्नुका साथै सौहाद्रपूर्ण सम्बन्ध विस्तार हुने आशय रहेको पाइन्छ । यस दिनबाट कुनै पनि धार्मिक कार्य तीर्थयात्रा सामाजिक परम्परा अनुसारका विवाह व्रतबन्ध लगायतका सामाजिक, धार्मिक, सास्कृतिक कार्य गर्न उपयुुक्त हुन्छ भन्ने परम्परा रहेको छ। महाभारतमा उल्लेख भए अनुसार भीष्म पितामहले आफ्नो देहत्या गर्ने समय पनि यसै अयनलाई रोजेर देहत्या गरेको भन्ने उल्लेख भएको पाइन्छ।
यसबाट के कुराको पुष्टि हुन्छ भने नेपालमा विभिन्न किसिमका सामाजिक धार्मिक सांस्कृतिक परम्परामा रहेको सकारात्मक पक्षलाई आत्मसाथ गर्दै निरन्तरताका लागि आगामी पुस्तालाई अनुसरण गर्न प्रेरित गर्नु आजको आवस्यकता रहेको छ जस बाट मानवीय जिवनलाई सफल,सुख,शान्ति र प्रसन्नता का साथ बेथित गर्न सकोस भन्ने नै हो ।