वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व रुपमा रहेको महाशिवरात्री प्रत्येक वर्षको फागुन चतुर्दशीका दिन मनाउने गरिन्छ । आजको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवको पूजा आराधनाका साथ उपवास वसी यो पर्व मनाइन्छ ।
हिन्दु धर्मावलम्बीहरूले आफुलाई पाएक पर्ने शिवालय,देवालय तथा शिव मन्दिरमा गई भगवान् शिवलाई मन पर्ने गाईको दुध, शुद्ध जल, बिल्लपत्र, भाङ धतुरो लगायतका अन्य वस्तुहरू अर्पण गरी पूजा अर्चना तथा रूद्राविशेक गर्ने गरिन्छ । ब्रह्माण्ड सञ्चालन गर्नको लागि त्रिदेव भगवानहरूको सृष्टि भएको मानिन्छ जुन ब्रह्मा विष्णु महेश्वर ब्रह्माले सृष्टि गर्नुहुन्छ विष्णुले पालन गर्नुहुन्छ त्यसैगरी महेश्वरले संहार गर्नुहुन्छ भन्ने धार्मिक मान्यता रहँदै आएको छ ।
हिन्दु धर्मावलम्बीहरूले मनाउँदै आएका क्रमशः मोहरात्री, कालरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक महत्त्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ । यस पर्वलाई धर्तीमा रहेका जिवहरूका मनमा धर्मको आभास दिलाउने भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ।
भक्तजनहरूले यस दिन व्रत बस्ने, रातभर जाग्राम बस्ने र शिवलिङ्गमा जल, दूध तथा बेलपत्र चढाउने गर्छन्। यसले पाप नाश भई मनोकामना पूरा हुने विश्वास छ। विवाहीत महिलाले पतिको दिर्घायू एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछ भने अविवाहित महिलाले सुयोग्य पति प्राप्तिको कामना सहित वर्त वस्ने गरिन्छ ।
ॐ नमःशिवाय लगायतका मन्त्रहरू सिद्धि प्राप्त भएमा मानवीय जिवनमा सुख शान्ति समृद्धि तथा मनोकांक्षा पूरा हुने तथा मृत्यु पश्चात पनि स्वर्गलोक प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। भगवान शिवमा रहेको एकाग्रताका संकेत मानव जीवनमा कुनै पनि कार्य सफलता प्राप्त गर्न एकाग्रताको ठूलो महत्व रहेको छ। मानव जीवनमा विभिन्न किसिमका दुःख कष्ट बाधा अडचन, बिपत्ति आएको अवस्थामा पनि धैर्यताका साथ समाधान गर्न सकिन्छ भन्ने सन्देश प्राप्त हुन्छ ।
यो दिन घर, चोक र मठमन्दिरमा दाउराको धुनी जगाई, भजनकीर्तन गरि रातभर जाग्राम बसेमा भगवान शिव खुसी हनुहुन्छ भन्ने धार्मिक मान्यता छ । वैज्ञानिक तथा धार्मिक मान्यता अनुसार उपवास बस्नाले शरीरमा उर्जा, स्र्फुती तथा स्वस्थ्य रहन्छ भन्ने विश्वास रहेको छ । नेपाल सरकारले यस दिनलाई राष्ट्रिय पर्व रुपमा लिई सार्वजनिक विदा दिदै आईरहको छ।